याक्थुङ युवा मञ्चले सम्पन्न गर्यो ‘लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम प्रकाशित मिति : 9 March, 2022 9:15 am काठमाडौं । याक्थुङ युवा मञ्च काठमाडौँले लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ११२औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण माबुहाङ र आदिवासी भूमि अधिकार सम्बन्धी काम गरेकी अमृता थेवेले वक्ताको रुपमा धारणा राखेका थिए । कार्यक्रमलाई अरुणा लिम्बूले सहजिकरण गरेकी थिइन् । पितृसत्तात्मक देशको रुपमा रहेको र महिलालाई चुलो चौकामा मात्र राख्नुपर्छ भन्ने समाजमा हुर्केर त्यस्तै शिक्षा पाएकाले सार्वजनिक रुपमा लिम्बू समुदायका महिलाहरूको उपस्थिति न्यून भएको बालकृष्ण माबोहाङले बताए । उनले भने, ‘सबैभन्दा उन्नत जात नै मानिस भन्छन् तर कसैको निगरानीमा नियन्त्रणमा बस्नुपर्ने कस्तो उन्नत जात रु भन्ने पनि लाग्छ ।’ संविधानले महिलाको अधिकार दिए पनि लिम्बू महिलाको अधिकारसँग नजोडिएको र आदिवासी महिलाहरूलाई नेपालको संविधानमा कानुनले छुन सके नसके अमृता थेवेले बताइन् । राज्यको श्रोत साधनमा आदिवासी महिलाहरूको पहुँच पनि नपुगेको उनको धारणा थियो । उनले भनिन्, ‘अबको आन्दोलन आदिवासी महिलाहरूले हामी को भावनामा गयौँ भने हाम्रो स्वतन्त्रता फर्कन सक्छ । पश्चिमा देशहरूमा त म र मेरो स्वतन्त्रताको रुपमा अगाडि बढेको छ ।’ याक्थुङ युवा मञ्च काठमाण्डौकी अध्यक्ष संगीता सुहाङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।