ताप्लेजुङ युवा समाज काठमाडौंद्वारा ३३ घर परिवारलाई सहयोग

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौंले ३३ घर परिवारलाई सहयोग गरेको छ । लकडाउनको चपेटामा परेर समस्या भोगिरहेका ताप्लेजुङबाट काठमाडौं आई बसोबास गर्ने नागरिकलाई ३० गते सम्ममा ३३ घर परिवारको १५३ जनालाई ६८३०० /- ( उनान्नसतरी हजार तीन सय ) बराबरको खाद्य सामाग्री वितरण गरेको हो । प्रति घर परिवारलाई २५ केजी चामल , ४ केजी दाल , २ लिटर तेल र १ केजी नुन सहयोग गरेको समाजका अध्यक्ष मुक्ति लाबुङले जानकारी दिनुभयो ।
ताप्लेजुङ युवा समाजले आफ्नो सचिवालय र कार्यसमितिको पदाधिकारीबाट आर्थिक संकलन गरी दैनिक ज्याला मजदुरी गर्ने , अति विपन्न , विद्यार्थी , वैदेशिक रोजगारी लागि काठमाडौं आई फसेका र अपाङ्ग अशक्तलाई सहयोग गरेको समाजका महासचिव निरोज लिवाङले जानकारी दिनुभयो । यस्तो विपत परिस्थितिमा पनि जोखिम मोलेर दुःख परेका जिल्लाबासीको घर आँगनसम्म समाजका अध्यक्ष मुक्ति लाबुङको निजी गाडीबाट प्रयोग गरि ढुवानी गरेर राहत वितरण गरिएको महासचिव लिवाङले बताए । साथै आफ्नो स्थापनाकालदेखि नै जिल्लाबासीको हरेक सुख दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि सधैँ युवा समाजले सकेजति साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बिहान ६ बजेदेखि लागु हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।
फेरी बसेको मन्त्रिपरिषदको बैठकले सो अवधिलाई लम्ब्याएर वैशाख ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । हाल विश्वमा कारोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्