एक दिनको यात्रा अर्थात् शिवपुरी हाइकिङ

एक दिनको यात्रा अर्थात् शिवपुरी हाइकिङ। हिजोआज शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई रिफ्रेस पार्न खोज्नेहरूबीच लोकप्रिय बन्दै गएको छ पदयात्रा अर्थात हाइकिङ। बिहान निस्केर बेलुका घर आइपुग्ने हाइकिङलाई डे टुर पनि भनिन्छ।

काठमाडौं उपत्यकामा हाइकिङको लागि हरेक याममा उपयुक्त हुने रुटहरू छन्। त्यस्ता धेरै हाइकिङ ट्रेलहरू छन्, जहाँ बिहान शहरबाट निस्केर बेलुकी मज्जाले घर फर्किन सकिन्छ। शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङ्गमती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनी आदि त्यस्ता रुटहरू हुन्।

वनजंगल, चराचुरुङ्गी तथा वनस्पति प्रेमीहरूका लागि त यी हाइकिङ ट्रेलहरू विशेष नै मानिन्छन्। जसमध्ये धेरैको छनौटमा पर्ने हाइकिङ ट्रेलमध्येको एक शिवपुरी ट्रेल पनि हो । शिवपुरी ट्रेलबाट वनपाखा, हिमशृङ्खला, सांस्कृतिक सम्पदा, जनजीवन आदि नियाल्दै उपत्यकालाई फन्को मार्न सकिन्छ । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन्।

बूढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ वाग्द्वार (विष्णुमतीको मुहान ) हुँदै या बायाँतर्फको रुटबाट डाँडामा पुगिन्छ भने वाग्द्वारबाट पनि शिवपुरी पुग्ने दुइटा रुट छन्।पानीमुहानबाट शुरू गरिने हाइकिङको आकर्षण नागी गुम्बा हो। शिवपुरी ट्रेलका धेरै विशेषताहरु छन् । शहरी क्षेत्रबाट करिब आधा घण्टामा हाइकिङ रुटको छेउमै पुगिन्छ । त्यस्तैे बूढानीलकण्ठ मन्दिर, नागी गुम्बा, पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा, लाङटाङ हिमाल रेञ्ज आदी हुन् ।


घना वनमा उकालो यात्रा गर्दा केही समय कठिन भएपनि शिवपुरी डाँडामा पुग्दा पुरस्कारको रूपमा लाङटाङ हिमशृङ्खलाको दृश्य आँखासामु आइपुग्छ।

बिभिन्न किसिमका वन्यजन्तु चराचुरुङ्गी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरीको हाइकिङ उपयुक्त मानिन्छ। शारीरिक कसरत र रमाइलोका लागि गरिने एकदिने हाइकिङमा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ।

दैनिक हिंड्न नभ्याउनेहरूले कम्तीमा महिनाको एकपटक हाइकिङ जाँदा शरीरबाट भरपुर पसिना निस्कने साथै यसले शरिरमा सजिलो सँग रक्तसञ्चार गराउँने हुँदा धेरै रोगहरुबाट बच्न सकिन्छ ।

उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ। “उकालो–ओरालो हिंड्दा खुट्टा दरिलो हुनुका साथै रगत सफा हुन्छ, समग्रमा स्वास्थ्यलाई धेरै फाइदा गर्छ। हाइकिङ जाँदा एकदिन भए पनि शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ।

हाइकिङ जादाँ के के लैजाने त ?

डे प्याक कम्पास, नक्सा, पानीको बोत्तल, हेडल्याम्प, खानेकुरा, सनस्क्रिम, ग्लास फुटवेयर बुट, सुज, हाइकिङ मोजा क्लोथिङ मौसमअनुसार ज्याकेट, रेनकोट, लामो टिसर्ट, पञ्जा आदि एक्सेसरिज पैसा, सानो ब्याग ट्वाइलेट पेपर, घडी डायरी, पेन, क्यामेरा

ध्यान दिनुपर्ने कुराहरु

एक्लै हाइकिङमा नजानुस् । समय ‘क्यालकुलेट’ गरेर हिँड्नुस् । संकेत दिएको स्थानबाट मात्र यात्रा गर्नुस् । घना जंगलतिर नजानुस् । फोन सम्पर्कमा रहनुस् ।

पर्यटन मन्त्रीको मन्त्रीको उपस्थितीमा २ हजार भन्दा बढीको सहभागितामा वृहत शिवपुरी राष्ट्रिय निकुञ्ज हाईकिङ हुँदै


नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले बृहत पदयात्रा (हाइकिङ्ग0 कार्यक्रम आयोजना गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना गरिन लागिएको हो ।

पदयात्रामा स्वदेशी तथा विदेशीसहित २ हजार भन्दा बढिको सहभागिता रहने सदस्य सचिव चैतन्य तुम्बाहाङ्फेले बताए । कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

जसको सहसंयोजकमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहनुभएको छ भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै पदयात्रा सफल पार्न १३ वटा उपसमिति बनाइएका छन् ।

युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान विष्ट, सरसफाई संयोजनमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्यवसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा, स्वयंसेवक व्यवस्थापनमा मान थलङ्ग र नामावली दर्ता व्यवस्थापन उपसमितिमा तिलप्रसाद लिम्बु रहेका छन् ।

यस्तै प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहेकी छन् भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको मुल समितिका संयोजक रमेश बरालले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाङ्फेले बताए ।

तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्