महिला प्रहरीको पक्षमा उभिए आइजिपी र मेट्रो प्रमुख : आस्था तनावमा

गायिका आस्था राउतले आफुलार्इ अत्यन्त सुप्रसिद्ध ठानेर आफुलाई विमानस्थलमा समेत सुरक्षा जाँच नगर्नु पर्ने ठान्दै एउटा महिला प्रहरी जवानलार्इ हेपेर व्यवहार गरेको विषय कुनै हिसाबले उचित थिँदै थिएन । झन भिडिओ रेकर्ड गरेर प्रहरीलार्इ गाली गरेर उनले थप गल्ती गरेकोमा दुइमत भएन ।

यो घटनामा सुरुमै प्रहरीले कसैको अनुहार हेरेर व्यवहार गर्दैन , विमानस्थल सुरक्षाको दौरानमा चेकजाँच गर्दा सबैलाई एकै हिसाबको व्यवहार हुने हुनाले चेकजाँचको दौरान अभद्र व्यवहार भएको भए त्यसो गर्नेलार्इ कारवाही हुन्छ भनेर महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रष्ट पारिदिएका थिए, त्यसो गरेर उनले प्रहरी कर्मचारीले ठीक ढंगले ड्युटी गर्दा कसैसँग डराउनु नपर्ने सन्देश दिए ।

यसै घटनालार्इ प्रहरी प्रधान कार्यालयले पनि तत्काल आवश्यक छानविन र कारवाहीको निर्देशन दिएर कानुनभन्दा माथि कोही नभएको सन्देश दियो । अहिले यसै घटनालार्इ लिएर सिसिटिभी फुटेजदेखि रोइकराई भिडिओहरु सार्वजनिक भइरहेका छन् । सबैलार्इ हेर्दा लाग्छ, आफ्नो उत्तेजक अभिव्यक्ति र ठूलो पल्टिने बानीले गर्दा गायिका राउतले कानुनी कारवाही भोग्नु पर्नेछ ।

यद्धपि यस घटनाबाट प्रहरीले पनि सिक्नुपर्ने केही कुरा जरुर छन । जस्तै ः सुरक्षाको दृष्टिले संसारका थुप्रै विमानस्थलमा पेय पदार्थ बोकेर जानै पाइदैन, त्यसैले यदि नेपालमा पनि त्यो सर्वव्यापी प्रणाली लागु गर्ने हो भने भोलि यस्तो समस्या नआउन सक्छ । अर्को कुरा सर्वसाधारणलार्इ जस्तो प्रहरीलार्इ असंवेदनशील र आक्रोशित हुने छुट छैन भन्ने बुझेर अब उपरान्त जस्तै विवाद हुँदा पनि गिरफ्तार नै गर्ने अवस्था बाहेक अन्य बेलामा कसैको हात समातेर तान्ने नै अवस्था आउनु हुदैन भन्नेमा सबै प्रहरी सचेत हुन जरुरी छ ।

जे होस यस घटनाले चर्चितहरु सबै संस्कारी हुँदैनन् भन्ने सन्देश दिनुको साथै संस्कारहीन छन् भने चर्चितहरुले त्यसको मूल्य चुकाउनु पर्छ भन्ने सन्देश समेत दिनुको अलावा अहिले प्रहरी जवानको दुःख र अप्ठेराहरुप्रति पनि संवेदनशील प्रहरी नेतृत्व छ भन्ने संदेश गएको छ ।

साभार : Nagariknews.com


प्रतिक्रिया दिनुहोस्