चोरी शिकारी नियन्त्रण समूहलाई फेकोफन ताप्लेजुङद्धारा सामाग्री वितरण प्रकाशित मिति : 12 January, 2020 10:13 am ताप्लेजुङ । सामुदायिक बन उपभोक्ता महांसघ नेपाल ताप्लेजुङले चोरी शिकारी नियन्त्रण समूहलाई सामाग्री वितरण गरेको छ । शनिवार एक कार्यक्रम गरी मिक्वाखोला ५ साविक पापुङमा रहेको सामुदायिक बन उपभोक्ता समूहद्धारा गठित चोरी शिकारी नियन्त्रण उप समूहलाई चोरी नियन्त्रण गर्न सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरिएको हो । पापुङमा रहेको ६ वटा समूहका प्रत्येक समूहका ८ जनाको दरले ज्याकेट,झोला,जुत्ता र लाईट वितरण गरिएको सामुदायिक बन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिएका छन् । सामाग्री पापुङको ताङखुमा जिल्ला समन्वय प्रमुख धनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला शसस्त्र प्रहरी बल ताप्लेजुङका प्रहरी नायव उपरीक्षक यदुकुमार कार्की, र नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाग्री हस्तान्तरण गरेका छन् । तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाको ३ लाख ६ हजारको आर्थिक सहयोगमा फेकोफन ताप्लेजुङले सामाग्री वितरण गरेको हो । सामाग्री वितरण पछि समन्वय प्रमुख मादेनले संरक्षणमा जुटेर जैविक विविधताको संरक्षण गर्नं सके आर्थिक आय आर्जन मनग्ने हुने धारणा ब्यक्त गर्नुभयो त्यस्तै प्रजिअ निरौलाले जीबजन्तुको संरक्षण गर्न सके पर्यापर्यटनको विकास हुने बताउनुभयो । सामाग्री वितरण अघि सो क्षेत्र फेकोफनको आर्थिक सहयोगमा निर्मित पर्यटन मार्गको अनुगमन समेत गरिएको थियो ।