भ्रमण वर्ष प्रारम्भ भएको अवसर पारेर बुङ्कुलुङमा स्तुपा निर्माण

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा स्तुपा (कदम चैत्ये) निर्माण गरिएको छ । बुङ्कुलुङको भोटेगाउँस्थित गोन्पा बिद्यालय परिसरमा निर्माण गरिएको स्तुपाको बुधबार अनावरण (प्राण प्रतिष्ठान) पनि गरिएको छ ।


फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल र अवतारी लामा टुल्कु लोप्साङ रिग्जिनले संयुक्त रुपमा स्तुपाको अनावरण गर्नुभएको छ । नेपाल भ्रमण वर्ष प्रारम्भ भएको अवसर पारेर स्तुपाको अनावरण गरिएको हो । विश्व शान्तिको कामना गर्दै स्तुपा निर्माण गरिएको स्थानीय बौद्ध भिक्षु थुप्तेन जिग्डोलले बताउनुभयो । गोन्पा बिद्यालय परिसरमा निर्माण गरिएको स्तुपाले बिद्यार्थीलाई पढाई केन्द्रित वातावरणमा सहयोग पुग्ने विश्वास आपूmहरुले लिएको पनि जिग्डोलले बताउनुभयो ।


स्थानीय समाजसेवी दावा शेर्पा र पासाङ्रिता शेर्पासहित उहाँका परिवारको अग्रसरतामा बौद्धमार्गीहरुले स्तुपा निर्माण गरेका हुन् । बौद्ध दर्शनका लागि एउटा साक्षात् इतिहासको रुपमा स्तुपा स्थापित हुने विश्वास राखिएको निर्माणकर्ता मध्येका एक सदस्य दावा शेर्पाको भनाइ छ । बौद्धमार्गी समुदायका बिद्यार्थी अध्ययन गर्ने गोन्पा बिद्यालय हालसम्म सरकारबाट वार्षिक दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध हुँदै आएको बाँकी स्थानीय आफैं जुटाउँदै आएका छन् । यता कार्यक्रममा फुङ्लिङ नगरप्रमुख प्याकुरेलले आगामी आवदेखि नगरपालिकाको तर्फबाट सहयोग पुग्नेगरी योजना बनाउने आश्वासन दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्