सवारी नियम उल्लंघन गर्ने चालकलाई खादा र पुष्पगुच्छाले सम्मान

गोरखा ३० कार्तिक / सधैजसो सवारी नियम उल्लंघन गर्ने बित्तिकै जरिवाना तिरिहाल्नु पर्ने सवारी चालकहरु शुक्रबार भने दंग परे । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार क्षेत्रमा सवारी चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने चालकलाई सम्झाई बुझाई गर्दै उल्टै पुष्पगुच्छा र खादा लगाएर सम्मान गरेपछि सवारी चालकहरु दंग परेका हुन् ।

जिल्लामा सवारी दुर्घटना न्युनीकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखाले आजदेखि हरेक महिनाको एकदिन सवारी नियम उल्लधन गर्ने सवारी चालकहरुलाई सम्मान गरि सम्झाई बुझाई गर्ने सवारी नियम सिकाउने कार्यक्रम शुरु गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘जरिवाना तिराएर मात्र पनि चालकहरु परिवर्तन हुन्छन् भन्ने होइन् उहाँले भन्नुभयो, सकारात्मक ढंगबाट सवारी चालकहरुको सोचाईमा परिवर्तन गराई सवारी नियम पालना गराउन सकिन्छ भन्ने लागेर जिल्लामा आजदेखि नयाँ अभियान शुरु गरेका हौ ।’ गल्ती गर्ने चालकहरुलाई अबदेखि गल्ती नगर्नुहोस भनेर खादा लगाएर पुष्पगुच्छा दिदा चालकहरु आफैले पनि गिल्टीको महसुस गर्ने हुदा त्यस्ता गल्ती नदोहो¥याउने एसपी अधिकारीको भनाई छ ।

‘जरिवाना तिराउनु पनि गल्ति महसुस गराउनु नै हो, उहाँले भन्नुभयो, जसरी हुन्छ सवारी चालकहरुलाई सवारी नियम पालना गराउन सकिए दुर्घटना न्युनीकरण गर्न सजिलो हुन्छ भन्ने सोचेर यो अभियान पनि शुरु गरेका हौ ।’ सवारी चालकको सानो गल्तीले ठूलो मानविय क्षति हुने भन्दै दुर्घटना न्युनीकरणका लागि जिल्ला भित्र सवारी चेकजाँच कडा पारिएको बताउनुभयो ।

दशै तिहार छठ जस्ता ठूला चाडपर्वका बेला समेत जिल्लामा सवारी दुर्घटना शुन्य जस्तै हुनुमा ट्राफिक नियमको कडाईका साथ पालना गराउनु नै भएको एसपी अधिकारीको भनाई छ । ‘ट्राफिकले जरिवाना गराउने कसैको रिसले होइन, सवारी सुरक्षाका लागि हो, उहाँले भन्नुभयो, अब महिनाको २९ दिन हामी दण्डात्मक हुन्छौ र एकदिन चाहि गल्ति गर्नेलाई सम्झाउने बुझाउने प्रयास गछौं ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुक बहादुर बि।कले ट्राफिक नियमको परिपालन गराउन सके दुर्घटना कम गर्न सकिने भएकाले सवारी चालकहरुलाई बुझाउन फरक अभियानको थालनी गरिएको जानकारी दिनुभयो । ‘ट्राफिक प्रहरी र सवारी चालक बिचको सधै नराम्रो सम्बन्ध हुन्छ भन्ने आम मानिसमा सोचाई छ, उहाँले भन्नुभयो, तर त्यो होइन हामीले गर्ने कारवाही उहाँहरुको सुरक्षाका लागि भन्ने कुरा बुझाउन लागि परेका छौ ।’

बाह्रकिलोमा औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको शुरुवात गरिएको उहाँले बताउनुभयो । गोरखा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका सदस्य कैलासबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्