अलैँची किसानलाई रोग कीरा नियन्त्रण गर्ने सामग्री वितरण

प्रयास लिम्बू
ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङका अलैँची किसानलाई अलैँचीमा लाग्ने रोग कीरा नियन्त्रण गर्ने सामग्री वितरण गरिएको छ । अलैँची जोन ताप्लेजुङले जिल्लाका विभिन्न तीनवटा वडाका किसानलाई अलैँची बगान व्यवस्थापन तथा रोगकीरा नियन्त्रण गर्नमा प्रयोग गरिने सामग्री वितरण गरेको हो ।

अलैँची किसानलाई गड्यौला मल, बिद्युतबाट सञ्चालन हुने बिषादी छिट्ने मेशीन र रोगकीरा नियन्त्रणका लागि प्रयोग गरिने बिषादी वितरण गरिएको अलैँची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाको मैवाखोला गाउँपालिका–३ साँघु, फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र वडा नं. ६ लेलेपको लुङ्थुङका समेत ७५ जना किसानलाई उक्त सामग्री वितरण गरिएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अलैँची किसानलाई करिब साढे ९ लाख रुपियाँ बराबरको सामग्री वितरण गरिएको हो । सामग्री वितरणसँगै किसानलाई अलैँची बगान व्यवस्थापन तथा रोग नियन्त्रणसम्बन्धी अनुशिक्षण समेत प्रदान गरिएको उहाँले बताउनुभयो । अलैँची तथा चिया अनुसन्धान केन्द्र धनकुटाका विज्ञ महेन्द्रप्रसाद यादव लगायतले बगान व्यवस्थापन, रोगकीरा नियन्त्रण र बिषादीको प्रयोगबारे किसानलाई अनुशिक्षण दिनुभएको थियो । गुणस्तरीय अलैँची उत्पादनमा बृद्धि गर्नलाई अपनाइने उपायका बारेमा अनुशिक्षण दिएको अलैँची जोनले जानकारी दिएको छ ।

अलैँची जोनले हाल कार्यक्षेत्रभित्र स्थानीय तहसँग मिलेर अलैँचीको बगान व्यवस्थापनदेखि उत्पादन, सुकाउने विधि, प्याकेजिङ, ग्रेडिङ, भण्डारण र बिक्री ब्यवहारका कार्यमा सघाउँदै आएको जनाएको छ । अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीका रुपमा खेती गरिँदै आएको छ । अलैँची जोनले अहिले जिल्लाका निश्चित वडाहरुमा आफ्नो कार्यक्रम गर्दै आइरहेको छ भने अलैँची खेती कुल ६१ वडामध्ये ६० वटा वडामा गर्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्