जिप नदीमा खस्दा बेपत्ता भएकाहरु नभेटिँदा परालको प्रतिमा बनाई अन्त्येष्टि

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए ।

असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । काठमाडौँ थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो ।

बेपत्ता भएकाहरु नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स भेटिएको छ ।

बेपत्ताको खोजीका लागि काठमाडौँको गोताखोर टोली हुम्ला पुगेको छ । गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको प्रतिमा बनाई अन्त्येष्टि गरेका थिए । आजको नागरिक दैनिकमा जनकबहादुर शाहीले यो समाचार लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्