भगवान बुद्धको मूर्तीमा बसेपछिआयुष्मान खुरानाकी श्रीमती ताहिराले माफी मागिन काठमाण्डौ असार ५ आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप हालै एक फोटोका कारण अत्यधिक ट्रोल भएकी थिइन् जसमा उनी भगवान बुद्धको प्रतिमामा बसेको देखिएकी थिइन् । उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् तर अब त्यसलाई हटाएकी छिन् । यतिमात्र होइन, उनले सोसल मिडियामा मानिसहरुसँग माफी पनि मागेकी छिन् । ताहिराले लेखिन्, ‘मलाई खेद छ’ ताहिराले फोटो डिलिट गरेपछि लेखिन्, ‘म कसैको पनि दुःख पीडाको कारण बन्न चाहन्नँ । अन्जानमा केही मानिसहरुको भावनालाई ठेस् पुर्याएकोमा मलाई खेद छ । सबैका लागि प्रेम र शान्तिको कामना ।’ जब ताहिराले बुद्धको काखमा बसेको फोटो सेयर गरिन् तब सोसल मिडिया प्रयोगकर्ताले उनलाई तथानाम भने । एक प्रयोगकर्ताले लेखेका थिए, ‘निकै खराब । बुद्धमाथि बस्नु निकै मूर्खतापूर्ण काम हो । पढेलेखेका मानिसहरु यस्तो काम गर्छन् भने अनपढले के गर्लान् रु तिमीले साँच्चै नै मूर्खतापूर्ण काम गरेकी छौ । भगवानलाई केही त सम्मान गर ।’ एक अन्य प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘तिमी बुद्धमाथि बसेकी छौ । कृपया सबै धर्मको सम्मान गर ।’ एक अन्य प्रयोगकर्ताले लेखे, ‘मैले जबसम्म तिमिलाई बुद्धको प्रतिमाको काखमा बसेको देखेकी थिइनँ तबसम्म म तिमीलाई एक सभ्य र बलियो महिलाको रुपमा सम्मान गर्दथेँ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस्, तर बुद्धमाथि बस्नु हामी बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो ।’ एजेन्सी