पक्राउ परे पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी, यस्तो छ अभियोग प्रकाशित मिति : 11 June, 2019 8:06 am काठमाडौं २८ जेठ / पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का सहअध्यक्ष समेत रहेका जरदारीलाई नेसनल अकाउन्टिबिलिटी ब्युरो (एनएबी) को टोलीले पक्राउ गरेको हो। इस्लामाबाद उच्च अदालतले सोमबार मनी लान्डरिङको मुद्दामा जरदारी र उनकी बहिनी फरयाल तालपुरको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो। न्यायाधीश आमिर फारुक र जस्टिस मोहसिन अख्तर कियानीको इजलासले निवेदन खारेज गरेर पक्राउ गर्न आदेश दिएको थियो। जरदारी र उनकी बहिनी मनी लन्डरिङमा मुख्य दोषी रहेका छन्। उनीहरूमाथि अवैध बैंक अकाउन्ट र देशभन्दा बाहिर पैसा पठाएको आरोप छ। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो। इस्लामाबादस्थित जरदारीको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए । पाकिस्तानी सञ्चारमाध्यमको रिपोर्टअनुसार सुरुमा जरदारीको घरमा एनएबीको टोलीलाई प्रवेश गर्न रोक लगाइएको थियो। उनीहरुले जरदारीलाई पक्राउ गर्नुअघि सभामुखको अनुमति लिनुपरेको थियो। अदालतको फैसला आउनुअघि जरदारी र उनकी बहिनी बाहिर निस्किएका थिए। जरदारी यो गिरफ्तारी र आरोपविरुद्ध इस्लामाबाद उच्च अदालत जान सक्नेछन्। जरदारी र उनकी बहिनीले फर्जी बैंक खाताबाट ४ अर्ब ४ करोड रुपियाँ देशबाहिर पठाएको आरोप लागेको छ। आसिफ अली जरदारीका छोरा बिलवाल भुट्टोले बाबु पक्राउ परेपछि कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन्। जरदारी पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन्।