लोक सेवाको विज्ञापन संविधान विपरीतः जनार्दन शर्मा

काठमाडौँ / नेकपाका सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको बताएका छन् ।

शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका शर्माले आयोगको विज्ञापनले संविधान मिचेको बताए । उनले भनेका छन् , ‘संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुको चित्त दुख्ला ।’ यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

लोक सेवा आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै देशभरि नै विरोध भइरहेको बेला सत्तारुढ दलका प्रभावशाली नेताले समेत विरोध गर्नु अर्थपूर्ण रहेको छ । संविधान मिच्दै अगाडि बढ्दा त्यसले देशमा अराजकता सिर्जना गर्ने नेता शर्माले बताए । उनले भने, ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो, यही हो संविधानको अराजकता । यसले राष्ट्रलाई संकटमा पार्छ ।’

आयोगले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीका लागि एकैचोटि ९ हजार भन्दा बढी कर्मचारीको विज्ञापन गरेको थियो ।
तर विज्ञान प्रकाशित हुनासाथ विरोध सुरु भएको थियो ।
प्रदेश नं २ बाट सुरु भएको विरोध अहिले देशभरि फैलिएको छ ।

लोक सेवा आयोगले आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको कोटा घटाएर विज्ञापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्