मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २० गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । मानव अधिकारको अवस्था र मानवअधिकार रक्षकहरुको भूमिकाका विषयमा अवगत गराउने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एकदिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरणमा सहजीकरण गर्नुहुँदै आयोगका निर्देशक डा. टीकाराम पोखरेल ।

कार्यक्रममा मानव अधिकार रक्षकको भूमिका र जोखिम बिषयक बुँदामा केन्द्रित रहेर मानव अधिकार आयोगका निर्देशक डाक्टर टीकाराम पोखरेलले सरोकारवालालाई अनुशिक्षण गराएउनुभएको थियो । डा. पोखरेलले अधिकारको संरक्षणका लागि क्रियाशील सबैपक्ष अधिकारकर्मी भएको भन्दै नागरिक समाजका सदस्यको भूमिका अरुभन्दा अब्बल हुने बताउनुभयो । मान्छेले जन्मेपछि मृत्यु पर्यन्त पाउने अधिकारलाई मानव अधिकारको रुपमा ब्याख्या गनुभएका उहाँले यो अधिकारको संरक्षणमा अधिकारकर्मीहरु बढी सम्बेदनशील र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले महिला तथा बालबालिकाका सवालमा केन्द्रित अधिकार हनन्का घटना बढी भएको भन्दै अधिकार संरक्षणका लागि सबै अधिकारकर्मीबीच कार्यगत एकता हुनुपर्नेमा जोड दिएका थिए । समूहगत छलफलमा दलित, महिला र बालबालिका केन्द्रित अधिकार हनन्का घटना र यसको न्यूनीकरणका उपायले महत्वपूर्ण स्थान पाएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, फुङ्लिङ नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझा र आठराई त्रिबेणी गाउँ कार्यपालिका सदस्य गीतादेवी सेन्दाङ र फुङ्लिङ नगरकार्यपालिका सदस्य नीता शिवा सहितका जनप्रतिनिधिले महिला, बालबालिका र दलित समुदायको अधिकार केन्द्रित सवाल उठाउनुभएको थियो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नागरिक समाजका अगुवा टामन सिग्देल, इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङ र नियोकका जिल्ला अध्यक्ष अम्बिका हाङ्बाङ, उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी लगायतले जिल्लाको समग्र मानव अधिकार हनन् र अधिकारकर्मीको आगामी भूमिकामा केन्द्रित बिषयमा बहस गर्नुभएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका क्षेत्रीय निर्देशक मोहनदेव जोशी र मानव अधिकार आयोगद्वारा सञ्चालित परियोजनाका व्यवस्थापक प्रेमबहादुर थापाले मानव अधिकारकर्मीको भूमिका र उनीहरुको क्रियाशिलता अभिवृद्धिका लागि कार्यक्रममा अनुशिक्षण गराउनुभएको थियो । कार्यक्रममा मानवअधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्