कञ्चनजङ्घा पर्यटन सेवा केन्द्र स्थापना ताप्लेजुङ / विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकहरूको सहयोगार्थ कञ्चनजङ्घा पर्यटन सहयोग केन्द्रको कार्यालय स्थापना गरिएको छ । ताप्लेजुङको फुङ्लिङ बजारस्थित वीरेन्द्रचोकमा स्थापना गरिएको कार्यालयको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फोम्बोले उद्घाटन गरेको छ । अब यो क्षेत्रमा आउने पर्यटकले उक्त कार्यालयमा सम्पर्क गरी भरियालगायतका सेवा लिन सक्नेछन् । सामुदायिक लज, होमस्टे, पुल निर्माण गर्ने र पदमार्ग स्तरोन्नति गर्ने कार्य भइरहेको उनको भनाइ थियो । कञ्चनजङ्घा आधार शिविरमा पर्यटकहरूको भारी बोक्दै आएका भरिया पर्यटन सहयोगीहरू यसअघि नै सङ्गठित भइसकेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गतको समृद्ध पहाड परियोजनाले कार्यालय स्थापनाका लागि ५० हजार सहयोग गरेको परियोजनाका पर्यटन अधिकृत सुदीप श्रेष्ठले बताए । कार्यक्रममा परिषद्का अध्यक्ष फोम्बोले पर्यटन प्रवद्र्धनका लागि कञ्चनजङ्घा क्षेत्रमा द्रुत गतिमा काम भइरहेको बताए ।