ताप्लेजुङका पहिरो पीडितले एक लाख थप राहत पाउने प्रयास लिम्बू ताप्लेजुङ, बैशाख ११ गते । ताप्लेजुङका पहिरो पीडितले थप राहत रकम पाउने भएका छन् । २०७२ साल जेष्ठ २७ गते जिल्लाको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाएका ४२ जनाका परिवारले राहत रकम पाउने भएका हुन् । फाइल तस्विर यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत जनही ४० हजार रुपियाँका दरले राहत रकम पाएका पीडितले अब थप एक लाख रुपियाँ पाउने भएका छन् । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै सबै मृतकका परिवारलाई तत्काल जनही एक लाख रुपियाँका दरले थप राहत रकम उपलब्ध गराउने सरकारको तयारी रहेको जनाएको छ । प्रतिनिधिसभा सदस्य भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंद्वारा जारी विज्ञप्तिअनुसार राहत रकम गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा निकासा हुने र प्रशासन कार्यालयमार्फत मृतकका परिवारलाई वितरण गरिने जनाइएको छ । केही समयअघि मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा आयोजित कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य भट्टराईसमक्ष पहिरो पीडित परिवारले थप सहयोगको मागसहित ज्ञापनपत्र बुझाएका थिए । पीडितको ज्ञापनपत्र लिएर काठमाडौं फर्किए लगत्तै भट्टराईले बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष लिखित निवेदन दिनुभएको थियो । सोही निवेदनअनुसार सरकारले पहिरो पीडितलाई थप सहयोग गर्ने भएको भनी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा बाढी पहिरोबाट घरबार बिहीन भएका पीडितहरुलाई आवास निर्माण तथा अन्य पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोग उपल्बध गराउने सहमति भएको पनि उल्लेख छ । सबै पीडितहरुको तथ्याङ्क सङ्कलन गरी यसको कार्यविधि र योजना बनाएर नेपाल सरकारले चाँडै कार्यान्वयन लैजाने तयारी गरेको जनाइएको छ । २०७२ साल जेष्ठ २७ गते जिल्लाको मिक्वाखोला गाँउपालिका वडा नं १ र २ खोक्लिङ, वडा नं. ३, लिबाङ तथा मेरिङ्देन गाँउपालिका वाड नं. १ थिङलाबु, वाड नं. २ सान्थाक्रा, वाड नं. ३ खाम्लुङ र वाड नं. ४ लिङ्तेप लगायतमा गएको पहिरोले ठूलो भौतिक तथा मानवीय क्षति गरेको थियो । कतिपय पहिरो पीडित अझै पुनःस्थापित हुन सकेका छैनन् ।