वीरगन्जमा २० वर्षीया नजमा खातुनले जन्माइन् एकैपटक ४ सन्तान काठमाडौं बैशाख ११, / वीरगन्जमा मंगलबार एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिएकी छन्। पर्साको छिपहरमाइ गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार शिशुलाई जन्म दिएकी हुन्। बच्चाहरु अस्पतालको एनआइसियुमा वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्। अस्पतालकी मेट्रोन भूमिका अधिकारीका अनुसार खातुनले जन्माएका चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य छ। खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको मेट्रोन अधिकारीले जानकारी दिइन्। उनका अनुसार चारै शिशुको अवस्था सामान्य रहे पनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखिएको छ। ‘खातुनलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा मङगलबार बिहान सात बजे भर्ना गरिएको थियो, अधिकारीले भनिन्, ‘१२ बजेर ४० मिनेटमा चार शिशु जन्मिएका हुन्, सबैको स्वास्थ्य अवस्था सामान्य छ तर तौल कम भएकाले एनआइसीयु कक्षमा राखिएको हो।’ सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि खातुनले सात महिना पनि नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा। स्वेता चौधरीले जानकारी दिइन्। ‘बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम हुने भएकाले सबैलाई एनआइसीयु कक्षमा राखिएको हो, डाक्टर चौधरीले भनिन्, ‘एनआइसीयुमा राखेपछि तौल पनि विस्तारै बढ्दै जान्छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा ’वीरगन्जबाट क्रान्ति शाहले यो खबर लेखेका छन्।