ताप्लेजुङको विभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद ताप्लेजुङ, / ताप्लेजुङको विभिन्न स्थानबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलबार प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल हतियार फेला पारेको हो । त्यसैगरी प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका–१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस्तै इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका–३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको हो भने सोही गाउँपालिका सिकैचा बस्ने ४० वर्षीय तुलाराम काङबाङले १ नाल सन्ससहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।