धरान—चतरा–हेटौंडा ३१८ किमि सडकको निर्माण कार्य तीव्रगतिमा

हेटौंडा / धरान, चतरा,हेटौंडा सडक झन्डै ३१८ किमि लामो सडकको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । उक्त सडकको पश्चिमी क्षेत्रतर्फ १७ किलोमिटर र पूर्वी क्षेत्रतर्फ १२ किलोमिटर कालोपत्रे भइसकेको छ ।

पश्चिमी क्षेत्रका ३३ वटा पुलमध्ये १७ वटा निर्माण भइसकेका छन् । सडकतर्फ ४२ प्रतिशत र पुलतर्फ ६८ प्रतिशत काम सकिसकेको छ,’ धरान–चतरा–हेटौंडा आयोजना प्रमुख राजेशप्रसाद पौडेलले भने, ‘तोकिएको समयमा नै पुल र सडकको काम सक्नेछौं ।’

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोडदै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सडकको दुवै खण्डमा करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सडकको तुलनामा पुल निर्माणको कार्यले तीव्रता पाएको छ । राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

आयोजनाका पश्चिम खण्डका इन्जिनियर केशव ओझाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका ६ चौघडासम्मको कुल ११५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका ६ चौघडादेखि गौरीटारसम्म करिब २ किलोमिटर सडकमा काम हुन सकेको छैन । उच्च अदालत पाटनको हेटौंडा इजलासले सडक विस्तार नगर्न अन्तरिम आदेश जारी गरेर काम रोकेको छ । स्थानीयवासीले घर टहराको क्षतिपूर्ति मात्र होइन, जमिनको पनि मुआब्जा पाउनुपर्ने माग राख्दै अदालतमा रिट निवदेन दर्ता गराएका थिए ।

राजमार्गको पूर्वी खण्डका इन्जिनियर गोविन्द दुमरूले ४६ वटा पुलमध्ये २३ वटा निर्माण सम्पन्न भइकसकेको जानकारी दिए । धरान–चतरा९गाईघाट–सिन्धुली–हेटौंडा सडकको ट्र्याक ओपन गर्ने कार्य गत वर्षमा नै सम्पन्न भइसकेको थियो । सरकारले यो सडकलाई मदन भण्डारी राजमार्गअन्तर्गत राखेको छ । मदन भण्डारी राजमार्गलाई इलामदेखि डडेलधुरासम्म तोकिएको छ । उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु आवका निम्ति ३ अर्ब रुपैयाँ विनियोजित गरेको छ ।

उक्त सडकको पश्चिमी खण्डतर्फ ३३ वटा पुल निर्माण गर्नुपर्छ भनेपूर्वी खण्डमा ४६ वटा पुल निर्माण गर्नुपर्छ । यस आयोजनमा ७९ वटा पुल निर्माण गर्नुपर्छ । ‘आगामी १८ महिनाभित्र धरान–चतराको सडक कालोपत्रे गर्ने योजना रहेको छ,’ आयोजना प्रमुख पौडेलले भने, ‘यो सडकको निर्माणका निम्ति सरकारले उच्च प्राथमिकता दिएका कारण डेढ वर्षभित्र सडकमा सवारी साधन गुड्न थाल्नेछन् ।’

आव २०६४र२०६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको थियो । यो सडकले भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ ।

धरान–चतरा सडक मकवानपुरमा ४९ किमि, सिन्धुलीमा १ सय ४० किमि, उदयपुरमा ११० किमि र सुनसरीमा १८ किलोमिटर पर्छ । अन्नपूर्ण पोस्ट मा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्