बारा–पर्साको आएको भीषण हुरी ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै प्रकाशित मिति : 11 April, 2019 6:34 am काठमाडौँ चैत २८, / जल तथा मौसम विज्ञान विभागले चैत १७ मा बारा र पर्सामा आएको भीषण हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको छ। विभागका अनुसार नेपालमा पहिलो पटक टोर्नाडो आएको हो । विभागले त्यसको नेपाली नाम खोजी भइरहेको जनाएको छ। विभागले बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखामा पत्रकार सम्मेलन गरी भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिर, स्थलगत अवलोकन र भिडियोको सूचना अध्ययनले त्यो दिनको हावाहुरी टोर्नाडो भएको पुष्टि भएको जनाएको छ। विभागका महानिर्देशक सरजकुमार वैद्यका अनुसार विभागको नेतृत्वमा द स्मल अर्थ नेपाल र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० का वैज्ञानिकहरूको टोलीले घटनालगत्तै चार दिनसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। अध्ययनमा सहभागी विभागकी वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले टोर्नाडो चितवन निकुञ्जमा सुरु भएको जानकारी दिइन्। पर्साको जगनाथपुरमा बलियो स्वरूप लिएको टोर्नाडो बाराको बौरियामा गएर कमजोर अवस्थामा विसर्जन भएको थियो। श्रेष्ठले हरिया रुखलाई फनफनी घुमाउनु, ढलान घरको छतलाई घुमाएर ८० मिटर टाढा फयाँक्नु, लोड गरिएको ट्रक घुमाएर पल्टाउनु, पानी तान्ने पम्प उखेल्नु र बाँसका झाङ उखेल्नुलगायत घटना टोर्नाडोले मात्र गर्न सक्ने बताइन्। नास्टका प्राज्ञ तथा विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठले टोर्नाडोले सोली आकारमा उच्च गतिमा सतहमा आउँदा जे भेट्यो, त्यही आफूतिर तान्ने हुँदा बारा र पर्सामा बढी क्षति हुन पुगेको उल्लेख गरे। ‘टोर्नाडो साँघुरो क्षेत्रफल भएर आउँछ र जहाँ छुन्छ, त्यहाँ विध्वंस मच्चाउँछ,’ श्रेष्ठले भने। उनले टोर्नाडोको गति प्रतिघण्टा २ सय किलोमिटरभन्दा बढी भएको बताए। विभागले टोर्नाडोको आकार, चौडाइ, वेग र तीव्रताबारे विस्तृत अध्ययन गरिरहेको महानिर्देशक वैद्यले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।