झापाबाट खैरो हेरोइनसहित २ जना समातिए झापा, पुस ८१ नम्बर प्रदेशअन्तर्गत प्रहरीले झापा र सुनसरी जिल्लाबाट अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित शनिबार २ जनालाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइनसहित होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ बतासे बस्ने ५५ वर्षीय खेमल मण्डललाई पक्राउ गरेको हो । साँझ ५ बजेको समयमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले होटलको १०६ नम्बरको कोठामा चेकजाँच गर्ने क्रममा १९ ग्राम ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको थियो । बरामद लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ ।