अवैध घरेलु मदिरा नियन्त्रणमा प्रकाशित मिति : 8 July, 2018 9:46 am अछाम / जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्रहरीले मंगलसैन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ (पास) र अवैध घरेलु मदिरा गरी ४०० लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताउनुभयो । अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ । कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरे पनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ । विगतमा मदिरा निशेधित क्षेत्रका रुपमा रहेको अछाम जिल्लामा अहिले अवैध घरेलु मदिरा खुलारुपमा बिक्री वितरण गर्ने गरिएको छ । घरेलु मदिराका कारण हुने विभिन्न किसिमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्दै आइरहेको प्रहरी नायब उपरीक्षक ताण्डुकारले बताउनुभयो । अवैध घरेलु मदिरा धेरैजसो अछाम जिल्लाको सान्तडा, विनायक, मंगलसैनलगायतका क्षेत्रमा पाइने गरेको र यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ । रासस