थाईल्याण्ड: उद्धारमा खटिएका गोताखोरको गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु प्रकाशित मिति : 6 July, 2018 11:42 am बिबिसी / चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौसेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ। उनी ३८ वर्षका थिए। एक अधिकारीले भने,उनी अक्सिजन पुर्याउन गएका थिए। उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो। उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ। गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ।उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए। किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन्।