११ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध मुग्लिन प्रकाशित मिति : 26 June, 2018 5:09 pm चितवन / लगातारको पहिरोले विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ । सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् । अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सडकमा दुवैतर्फ सवारीको अधिक चाप भएका कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।