टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार प्रकाशित मिति : 25 June, 2018 4:54 pm इस्तानबुल / टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित हुनु भएको छ । थप पाँच बर्षका लागि उहाँ फेरी शक्तिमा आउनु भएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ । उहाँ दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी हुनुभएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् । गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ । न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उहाँले भन्नुभयो । सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उहाँका निकटम प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ । विपक्षीद्वारा हार स्वीकार उहाँ विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् । प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भन्नु भएको छ, “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।” रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गर्नु भएको छ । विश्वभरबाट बधाई एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिदै सफलताको कामना गरेका छन् । पाँच बर्षका लागि फेरी उहाँ निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बाेिस्नया, बोल्गरीयालगायतका देशहरुले खुशी व्यक्त गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रुपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिनुभएको छ । उहाँले देशलाई विश्वव्यापी रुपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिनुभएको रूसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ । अन्य देशका उहाँका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाइ सन्देश पठाउदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिनुभएको छ । रासस/एएफपी