भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु प्रकाशित मिति : 21 June, 2018 8:03 am नवलपरासी / पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो । सरकारी कार्यालयमा सुशासन तथा पारदर्शीता कायम गरी जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो । जिल्लाका सबै सरकारी कार्यालयले जनताको आवश्यकतालाई मध्यनजर गरी छिटो र छरितो रुपमा प्रभावकारी सेवा प्रदान गर्नु यो अभियानको मुख्य लक्ष्य रहेको छ । सेवाग्राहीलाई कार्यालयबाट दिइने सेवामा बिचौलियाको पहुँच नपुगोस् भन्ने उद्देश्यले सरकारी कार्यालयको कार्यसम्पादन कक्षमा बिचौलियालाई प्रवेशसमेत रोक लगाउन सबै कार्यालयमा निर्देशन दिइसकिएको प्रमुख जिल्ला लामिछानेको भनाइ छ । यसरी सरकारी कार्यालयमा ‘ भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिपछि यस कामको सर्वसाधारण पाउने सेवामा थप सहजता भएको अपेक्षा गरिएको छ । पश्चिम नवलपरासीमा सात वटा स्थानीय तहसहित करीब ३० वटा सरकारी कार्यालय रहेका छन् ।