सगरमाथा आरोही महिला पत्रकार सम्मानित प्रकाशित मिति : 2 June, 2018 11:13 am काठमाडौँ, १९ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।” हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न नहुने उहाँको भनाइ थियो । “हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,”, उहाँले भन्नुभयो । उहाँले आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको बताउनुभयो । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत जीवन, जेल जीवनले पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन”, प्रधानमन्त्री ओलीले भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले पनि उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन हुनुहुन्छ । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यको कारणले सात हजार मिटरबाट फर्कनुभएको थियो । रासस