जापानी राजदूतलाई उपराष्ट्रपति पुनले ढाका टोपी लगाएर विदाइ गरे

३ जेठ, काठमाडौं /  नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग विदाइ भेट गरेका छन् ।उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले विदाइ भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको दिशामा अगाडि बढिरहेको बताए । उनले नेपालको समृद्धिका लागि जापानका साथ सहयोग रहनुपर्ने बताए ।

उपराष्ट्रपतिले नेपाल जापान सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत ओगावाको कार्याकालमा थप सुदृढ् भएको बताएका छन। उपराष्ट्रपतिले जापानी राजदूत ओगावाको कार्यकाल सफल भएको उल्लेख गर्दै बधाई तथा धन्यवाद दिएका छन । उनले प्राकृतिक रुपमा सुन्दर रहेको नेपालको आगामी दिनमा भ्रमण गरिराख्न राजदूतलाई आग्रह समेत गरे । उपराष्ट्रपतिसँगको भेटमा जापानी राजदूत ओगावाले जापान(नेपाल सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले सबै नेपाली अत्यन्त सहयोगी रहेको उल्लेख गर्दै नेपाली नेता, नेपाली जनताको साथ सहयोगले आफ्नो कार्यकाल सफल भएको बताए । उनले नेपालको समृद्धिको यात्रामा जापानको सदैब साथ रहने बताए ।

उनले प्राकृतिक रुपमा अत्यन्त सुन्दर देश नेपाललाई आफूले कहिल्यै विर्सन नसक्ने बताएका छन । उनले नेपालको सुन्दरताको जति वर्णन गरे पनि पूरा नहुने बताए । राजदूतले साढे चार वर्षे कार्यकाल सकिएकोले आफू २२ मे मा स्वदेश र्फकने र नयाँ राजदूत मे २७ मा काठमाडौं आइपुग्ने जानकारी दिएका छन। नेपालको कार्यकाल सकाएर स्वदेश र्फकन लागेका जापानी राजदूत मागावोलाई उपराष्ट्रपतिले ढाकाटोपी लगाएर विदाइ गरेका छन ।


प्रतिक्रिया दिनुहोस्