अफगानी सहर फराहमा भीषण तालिवानी आक्रमण 0 Shares पश्चिमी अफगानिस्तानको एक सहरमा तालिवान बन्दुकधारीले भीषण आक्रमण गरेका छन्। फराह प्रान्तको राजधानी फराह सहर तालिवानको कब्जामा पुग्नसक्ने चिन्ता व्यक्त गरिएको छ। इरानसँगको सीमानजिकै रहेको सो सहरमा मंगलबार बिहानै बन्दुकधारीहरुले चारै दिशाबाट आक्रमण गरेका हुन्। आक्रमणमा दर्जनौँ सुरक्षाकर्मी मारिएको र घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन्। सहरको जनसंख्या ५० हजारभन्दा बढी रहेको जनाइएको छ। थुप्रै स्थानमा तालिवान लडाकुको संख्या सरकारी सुरक्षाकर्मीको भन्दा बढी भएको बताइएको छ। स्थानीयले लडाकुलाई रोक्न सरकारले ढिलाइ गरेको भन्दै सहर तालिबानको नियन्त्रणमा जान लागेको बताएका छन्। स्थानीयबासी समेत हतियार उठाएर तालिवानसँग लडिरहेको अफगानी सञ्चारमाध्यमहरुले बताएका छन्। एजेन्सी