एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह प्रकाशित मिति : 22 April, 2018 12:34 pm काठमाडौँ, / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औंँ स्थापना दिवसका अवसरमा अध्यक्ष दाहालले प्रगतिशील र देशभक्त जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष दाहालले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यावहारिक अभ्यासको चरणमा रहेको बताउँदै उहाँले समाजवादोन्मुख संविधान कार्यान्वयन पहिलो खुट्किलो भएको जनाउनुभएको छ ।जनयुद्धको जगमा भएको जनआन्दोलनले सयौंँ वर्षको राजतन्त्रलाई समाप्त गरी संविधानसभाद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको उल्लेख गर्दै उ हाँले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीतासहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने काम अहिलेको मुख्य अभिभारा भएको स्पष्ट गर्नुभएको छ । रासस