कोशी करिडोरको निर्माण कार्य अघि बढ्यो

पाँचथर /  पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ ।

फाइल तस्बिर

सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् । पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुनबाँकी छ । रु ६ अर्ब १३ करोडको ठेक्का स्वीकृत भएको उहाँको भनाइ छ ।

रु चार अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । हालै दुई प्याकेजका लागि रु एक अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ । एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो । दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो । शुरुमा रु सात अर्बको इस्टिमेट थियो ।

सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ । एक सय ४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो । यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ । ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताउनुभयो । पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्