लिफ्ट मागेर कर्मचारी लुट्ने गिरोह पक्राउ प्रकाशित मिति : 27 June, 2022 5:59 pm काठमाडौं । कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका – ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनीहरुलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए। यसअघि गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको थियो।