विश्वव्यापी कविता प्रतियोगिता हुँदै प्रकाशित मिति : 16 January, 2020 7:58 am ‘प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरूलाई थप उर्जा प्रदान गर्नेछ ।’ –कृष्ण बिश्वकर्मा , अध्यक्ष–सगरमाथा साहित्य प्रतिष्ठान नेपाल । युएई, १ माघ । सगरमाथा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा विश्वव्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले कविता प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरि देश बिदेशमा रहने कविहरूबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ । कविता फाल्गुन–१ गतेसम्ममा संस्थाको इमेल [email protected] मा पठाउनसक्नुपर्नेछ । प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । कविता नेपाली युनिकोडमा लेखी पठाउनुपर्नेछ । कविता प्रतियोगिताको नतिजा २०७७ बैशाख १ गते उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरी घोषणा गरिनेछ । कार्यक्रममा सर्वोकृष्ट एक कविले पच्चपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् भने अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने संस्थाका कार्यक्रम संयोजकले वताए । प्रतियोगिताका उत्कृष्ट दससहित देश बिदेशका एकाउन्न कविका कविताहरू समेटेर संस्थाबाट एक बर्ष भित्रै कविता संग्रह प्रकाशित गरिने पनि जनाईएको छ । प्रतियोगी कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने साथै अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन् जनाइएको छ । तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनुपर्ने बताईएको छ । रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउन संस्थाको फेसबुक पेजमा जारी सुचनामा आग्रह गरिएको छ । कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित÷प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको प्रचार–प्रसार संजोकले जनाएका छन् ।