तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई साताको साहित्य पुरस्कार प्रकाशित मिति : 4 January, 2020 8:36 pm काठमाडौँ । यस वर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई प्रदान गरिएको छ । साताको साहित्य डट कमले वर्षभरि आफ्नो वेबसाइटमा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको साताको साहित्य पुरस्कारमा कवयित्री सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिएको हो । आज राजधानीको पर्यटन बोर्डमा एक समारोहका बीच सीता तुम्खेवालाई पुरस्कार अर्पण गरियो । कवयित्री सीता तुम्खेवाले पुरस्कार स्वरूप ताम्रपत्र र नगद बीस हजार रूपैयाँ प्राप्त गरेकी छिन् । असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ साताको साहित्य डट कमले आठ वर्ष अघिदेखि सुरु गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई ऊर्जा थपिरहेको बताए । यसअघि नवीन प्यासी, प्रोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरू पुरस्कृत भएका थिए । कार्यक्रममा नयनराज पाण्डे, नारायण ढकाल लगायत साताको साहित्य पुरस्कारबाट पुरस्कृत लेखकहरूको पनि उपस्थिति थियो । लेखक एवं प्रकाशक भुपेन्द्र खड्काले सञ्चालन गरेको कार्यक्रममा साताको साहित्यका कार्यकारी सम्पादकले उपस्थित सबैलाई स्वागत गरेका थिए भने सम्पादक निष्प्रभ सजीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए । साताको साहित्य पुरस्कारको प्रायोजन हरेक वर्ष इनोभेटिभ एसोसिएट्सले गर्दै आएको छ ।