साहित्यकार सीता तुम्खेवालाई साताको साहित्य पुरस्कारबाट सम्मान गरिँदै

काठमाडौं, २९ मंसिर । यस बर्षको साताको साहित्य पुरस्कार नयाँअनलाइनकी सीता तुम्खेवालाई प्रदान हुने भएको छ ।

साहित्यकार तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई पुरस्कार प्रदान गरिने निर्णय भएको हो । साताको साहित्य डट कममा अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा गीता पुडासैनी को कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए ।

निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आभारमा ‘वीर्यको बतास’ कवितालाई चयन गरेका हुन् ।

लेखिकालाई एक समारोहबीच केही सातापछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गरिने साताको साहित्यडटकमको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साताको साहित्य पुरस्कारको थालनी आठ बर्ष अघिदेखि गरिएको हो । यसअघि नवीन प्यासी, प्रोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्