पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव पद चाहिएको भए दल खोलेर चुनाव जित्नुस् : डा.भट्टराई

काठमाडौं, ३० असोज / समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले पद चाहिए दल खोलेर चुनाव जितेर देखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले केहि जनताहरुले टीका थाप्दैमा राजतन्त्र नफर्किने र फर्किएको सपना नदेख्न पूर्वराजा शाहलाई चेतावनी दिएका छन् ।

फाईल तस्विर

गृह जिल्ला गोरखा सदरमुकाममा समाजवादी पार्टीले आयोजना गरेको दशैं, तिहार र छठको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले जातीय र वंशीय परम्पराका आधारमा देश चलाउने प्रथाको अन्त्य भइसकेको बताएका छन् ।उनले भने, ‘राजतन्त्र कुनै पनि हालतमा फर्कदैन । जातीय र वंशीय परम्पराको अन्त्य गरेर गणतन्त्र ल्याएका हौं, अब पछाडि फर्कने ठाउँ छैन ।’

अध्यक्ष भट्टराईले देश चलाउने इच्छा जागेको भए दल खोलेर चुनावी मैदानमा ओर्लन समेत पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती समेत दिए । उनले भने, ‘पारस र हिमानीलाई पनि चुनावमा लडाएर जित्नुस्, हामीलाई कुनै आपति हुँदैन । उनले देश नयाँ यात्रामा रहेको हुँदा विकास र समृद्धिका लागि सबै दलहरुबीच सहकार्य र एकताको खाँचो रहेको औंल्याए । यस्तै डा. भट्टराईले आफूहरुको संविधान संशोधनको मागलाई सरकारले सुुनुवाइ नगरेको भन्दै सरकार छाड्ने तयारीमा आफूहरु रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्