ज्ञानेन्द्र शाहीलाई सम्झाएको मात्रै हो ‘वाइसिएल चितवन,

चितवन, १३ असोज / ज्ञानेन्द्र शााहीमाथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएको छ।

रेग्मीले गणतन्त्रविरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको जानकारी दिए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो। यहाँका जनताले छिटो रियाक्ट गर्छन्,’ उनले भने, ‘गणतन्त्रविरोधिलाई मन पराउँदैनन्, त्यसैको उपज हो उनिमाथिको आक्रमण।’

अध्यक्ष रेग्मीले शाहीमाथिको आक्रमणमा नेकपा निकटका कुनै संगठनको संलग्नता नरहेको दावी गरे। बिनाप्रमाण आफुलाई मन नपर्ने व्यक्तिलाई भ्रष्टाचारी भन्ने, गालीगलौज गर्ने, चेतावनी दिने, मानमर्दन गर्ने लगायतका गतिविधि गर्ने छुट शाहीलाई नरहेको रेग्मीको भनाइ छ। उनले भने, ‘हामी पनि भ्रष्टाचारको विरोधी हौँ समृद्धि, सम्मुनत विकसित नेपालका लागि लड्छौँ तर जसलाई जे मन लाग्यो त्यही गर्दै, बोल्दै हिँड्ने अधिकार कसैलाई छैन।’ उनले यो घटना दुःखद् भएको टिप्पणी समेत गरे।


प्रतिक्रिया दिनुहोस्