चिनियाँ विदेशमन्त्री नेपाल आउदै प्रकाशित मिति : 7 September, 2019 12:23 pm काठमाडौं भदौ २१ / चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेको हो । वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । सँगै समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ । दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण गरेलगत्तै चिनियाँ विदेशमन्त्री पनि नेपाल आउन लागेका हुन् । उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ दूतावास स्रोतका अनुसार वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउनेछन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएको भएपनि कुनै प्रगति भएको छैन। यद्यपि पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाएका छैनन् । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएका हुन् । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखिएको छ । त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यही अवस्थामा पाकिस्तानसँग निकट भनिएको चीनका विदेशमन्त्री सो देशको भ्रमणसँग नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ । भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेका थिए । एस जयशंकरले नेपाल रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग कश्मीर मुद्दाको बारेमा छलफल गरेका थिए । सो कुराको जानकारी पाकिस्तानले थाहा पाएपछि कुरेशीले पनि तत्कालै फोन गरेका थिए ।तर नेपालले भने कश्मीरको विषय भारत र पाकिस्तानको आन्तरिक मामिला भएको बताउँदै आएको छ ।