प्रधानमन्त्री भएको १७ महिनापछि ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं भदौ ३ / महिनापछि ओलीले डाके सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका हुन् ।

फाईल तस्विर

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । संसदमा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी चार दल छन् ।

प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिङ्गापुर भ्रमणबारे जानकारी गराउने जनाइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिङ्गापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनः परीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदैछन् ।

यद्यपि, प्रधानमन्त्रीले ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने अपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्