फरार भनिएकी शिल्पा पुगिन् सुटुक्क सर्वोच्चमा प्रकाशित मिति : 18 August, 2019 3:26 pm काठमाडौं भदौं १ /अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाको सम्बन्धविच्छेद विवाद सर्वोच्च अदालत पुगेको छ । जिल्ला, उच्च हुँदै उक्त विवाद सर्वोच्च अदालत पुगेको हो ।जिल्ला अदालत काठमाडौंले बहुविवाहमा मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई पक्राउ पूर्जी जारी गरिएका थिए जिल्ला अदालतले पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनीहरु हालसम्म फेला परेका छैनन् । फाईल तस्विर आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन् । उच्च अदालतमा उनले आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी खारेज हुनुपर्ने जिकिर गरेकी थिइन् ।शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीको आदेश रोक्न अस्वीकार गरेका थिए । उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन् । उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उच्चले पनि जिल्ला अदालतको आदेशलाई सदर गरेपछि आफूहरु पक्राउ पर्न सक्ने भन्दै उनी सर्वोच्च पुगेकी हुन् । शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन् । त्यहाँबाट आफू अनुकुल आदेश नभएपछि शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् । उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ । छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवैविरुद्ध जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो । गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन् ।