समर्थन उल्टियो, हिजो रविको पक्षमा आज पुडासैनीको पक्षमा

काठमाडौं साउन ३२ / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण अहिले अनुसन्धानकै क्रममा रहेका छ ।पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोका कारण घटनामा तानिएका न्यूज २४ का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले चितवन प्रहरीको हिरासतमा छन् ।

हिजो शुक्रबार चितवन अदालतले घटना अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरेको हो । हिजो रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै गर्दा लामिछानेका समर्थकहरुले नाराबाजी गर्दै उनको रिहाइको माग गरेका थिए ।

उनका समर्थकहरुले विहानैदेखि प्रहरी र जिल्ला अदालतमा नाराबाजी गरेपछि चितवन तनावपूर्ण रहेको थियो । रविका समर्थक र प्रहरीबीच झडप समेत भएका थिए । केहि व्याक्ति घाइते समेत भए ।

तर आज शनिबार भने चितवनमा एकाएक रविका समर्थकहरु पुडासैनीको पक्षमा सडकमा उत्रिएका छन् । हिजोसम्म टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा उत्रिएका चितवनबासीले आज विहानै माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको पक्षमा उत्रिए । पुडासैनी प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्डसहितको जुलुस निकालेका छन् ।


प्रतिक्रिया दिनुहोस्