पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने संगै २ जना पक्राउ प्रकाशित मिति : 16 August, 2019 10:33 am काठमाडौं साउन ३० / प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणसँग जोडिएका लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका हुन् । नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । फाईल तस्विर रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखढुंगाकी कार्की भने नर्स हुन् । जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामिछाने र कँडेललाई साँझतिर लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको हो । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको छैन् । यता परिसरका प्रवक्ता होविन्द्र बोगटीले सार्वजनिक चासोको विषय भएर उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताए । यता पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए । यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।