असार १० गते मङ्गलबार नेपाल बन्द : विप्लवको फौजी निर्देशन प्रकाशित मिति : 21 June, 2019 2:03 pm काठमाडौं ०६ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले फासिवादी शैली विरुद्धमा यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव विप्लवले आज प्रेस वक्तव्य जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गरेका छन् । महासचिव विप्लवद्वारा जारी वक्तव्यमा, ‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ । त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ । वक्तव्यको अन्त्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’ प्रहरीले नेता पौडेलको भिडन्त भएको बताएपनि उनको गैरन्यायिक हत्या भएको विप्लव नेकपाको भनाई छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ लखन्तीमा उनलाई नियन्त्रणमा लिएर सुरुमा हातमा गोली, त्यसपछि टाउकोमा प्रहार गरी हत्या गरिएको र पछि प्रहरी आफैले उनको हातमा पेस्तोल राखिदिएको दाबी विप्लव नेकपाले गरेको छ ।