सगरमाथाको ऐतिहाँसिक नाम क्ष्योमोलाङमा प्रकाशित मिति : 19 June, 2019 1:53 pm काठमाण्डौ असार ४/ आदिम कालदेखि नै हिमाली भूभागमा बसोबास गर्ने शेर्पा जातिले विभिन्न भूमीदेवहरूको पूजा– आजा गर्दै आएका छन् । ती देवीदेवताहरूमध्ये क्ष्योमोलाङमा पनि एक हो । हिमाली भेगमा दिर्घयुका पञ्चा हिमाली भूमी देवीहरू टाशी छिरीङमा, थिङकी स्यल्सङमा, चोपेन डिसाङमा, तकर डोसाङमा र क्ष्योमो मियो लाङसाङमा रहेका छन् । यिनीहरूलाई छेरिङ चेङा भनिन्छ । यिनीहरूको शेर्पा लगायत हिमाली समुदायमा काङसो पूजा हुने गर्दछन् भने यिनीहरूले आ–आफ्नो आर्शीवाद दिने विश्वास गरिन्छ । पञ्च कन्या देवीहरूमध्ये कन्छी देवीलाई क्ष्योमो मियो लाङसाङमा भनिन्छ । च्योमो मियो लाङसाङमाले खाद्यान्न उपलब्ध हुने आर्शीवाद दिने विश्वास गरिन्छ । यी देवीको बासस्थानलाई क्ष्योमोलाङमा भनिन्छ । क्ष्योमोलाङमा शब्दको अपभ्रंश क्ष्योमोलोङमा ̷ ज्योमोलाङमा हो । विश्व इतिहासमा सन् १८०९ देखि हिमालहरूको उचाई नाप्ने कार्य सुरु भयो । हिमालहरूको उचाइ मापनको क्रममा सर्वप्रथम धौलागिरि ८१७२ मि० विश्वको अग्लो हिमाल भनिएको थियो । फेरि सन् १८४८ मा कञ्चनजङ्घा हिमालको उचाइ नापियो । जसको उचाइ ८,५८६ मिटर थियो । यसको उचाइ धौलागिरि हिमालको भन्दा अग्लो हुन आयो र संसारको अग्लो चुचुरो भनिएको थियो । यसरी हिमालहरूको नाप लिने क्रममा १४ ओटा हिमालको मापनपछि १५ स्थानमा इस्ट इन्डिया कम्पनीका सर्वेक्षणकर्ता बेलायतका जर्ज एभरेष्टले सन् १८४९ मा सर्भे गरी अहिलेको सगरमाथा पत्ता लगाएका थिए । जसको उचाइ ८८४८ मिटर २९०२८ फिट० हुन आयो । सर्वेक्षणकर्ता एभरेस्टले क्ष्योमोलाङमाको उचाइ निर्धारण नगर्दासम्म यो नै धार्तीको अग्लो चुचुरो हो भन्ने हेक्का थिएन् । त्यसबेला सर्वेक्षणकर्ताले हालको सगरमाथाको नाम रोमन अंकमा पिक फिप्टीन राखिदिएका थिए । जसलाई नेपाली विद्धवानहरुले पन्ध्रौं चुली भनिन्छ । नेपालबाट यस वर्ष सगरमाथाको उचाई मापन कार्य भएको छ । सन् १८६५ मा भारतका सर्वेयर–जनरल सर एन्ड्रयु बाघले जर्ज एभरेष्टको स्मरणमा पन्ध्राँै चुचुरोको नाम माउण्ट एभरेष्ट राखिदिए । त्यसै गरी वि।सं। २०१३ तथा सन १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई नेपाली न्वारान गरी यस पर्वतको नाम सगरमाथा राखिदिएका हुन् । उनले यस पर्वतको नेपाली नाम शारदा नामक पत्रिकामार्फत प्रकाशन गरेका थिए । हिमाली भूभागमा बसोबास गर्दै आएको शेर्पा समुदायले यसलाई क्ष्योमोलाङमा भनेर सम्बोधन आदिम कालदेखि नै गर्दै आएको हुनाले विश्वको सर्वोच्च शिखरको ऐतिहासिक नाम क्ष्योमोलाङमा, मापनपछिको नाम पिक १५, जर्ज एभरेष्टको स्मारणमा राखिएको नाम माउण्ट एभरेष्ट र नेपालीमा सगरमाथा रहेको छ । सन् १९२१ देखि नै सगरमाथाको चुचुरो मानव पाइला राख्न प्रयास गरे पनि सफल भने सन् १९५३ मात्र भयो । सर्वप्रथम सन् १९५३ मे २९ तारिख १६ जेष्ठ २०१० को दिन सगरमाथाको शिखरमा बिहान ११ः१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए । यसरी सगरमाथा आरोहण गरेको समाचार जुन २ मा बेलायतमा र जुन ३, १९५३ मा नेपालमा प्रकाशन भएको थियो । बेलायतलगायत अन्य विकासित राष्ट्र तथा नेपालमा पनि सगरमाथा आरोहणको व्यापक चर्चा भयो । यसरी शेर्पाहरूले पर्वतारोहणबाट नेपाललाई विश्वसामु चिनाउन सफल र सक्षम भएको छ । शेर्पाहरू आरोहण दलको सहयोगीमा जानु अगाडि बौद्ध धर्म गुरुकहाँ गई चन्द्र पात्रोअनुसार साइत हेर्ने चलन छ भने घरमा क्ष्योमोलाङमा आरोहणमा बिघ्नबाधा नआउन भनी बौद्ध धर्म गुरु आमन्त्रण गरी पूजा गर्ने परम्परा छ । सगरमाथाको आधार शिविरमा पुगेपछि पनि आफ्नो आरोहण दलका सम्पूर्ण सदस्यहरूको साथमा बौद्ध धर्म गुरु आमन्त्रण गरी पर्वतारोहण सफलताको लागि च्योमो मियो लाङसाङमाको पूजा गर्ने र शेर्पा समुदायको परम्परागत श्याब्रु नृत्य गर्ने चलन छ । यसलाई ल्ह सो पूजा भनिन्छ । ल्ह सो पूजाको अप्रभंस शब्द ल्हप्सो पूजा हो । यसरी पूजा गर्दा हिमालमा भएका देवीदेवताहरू खुसी हुने र पर्वतारोहण कार्य सफल हुने जनाविश्वास गरिन्छ । त्यति मात्र होइन, शेर्पाहरूले सम्पूर्ण हिमाललाई देवीदेवताको रूपमा सदैव पूजा गर्ने परम्परा छ । साथै शेर्पा समुदायको सघन बस्ती भएको कुनै पनि गाउँहरूमा पशुबली निषेधित गरिएको हुन्छ । आदिम कालदेखि नै सगरमाथा क्षेत्रमा पशुहरू काटमार गर्ने चलन छैन । यी सम्पूर्ण आधारहरूले के पुष्टि गर्दछ भने सगरमाथाको एतिहासिक नाम क्ष्योमोलाङमा रहेको प्रष्ट हुन्छ । सेर्कु शेर्पा अनुसन्धानकर्ता, लेखक शेर्पा समुदायको मौलिक पहिचान तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, काठमाडौँका महासचिव