भरतको उत्कृष्ट प्रदर्शनमा अार्मीको अपराजित यात्रा कायमै

काठमाडौं /  पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ ।

विभागीय टिम नेपाल आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले लिग लिडर मनाङ मर्स्याङ्दी क्लबलाई टक्कर दिन पनि टिमको लागि तीन अंक महत्वपूर्ण रहेको बताएका छन् । कप्तान भरत खवासले दुई गोल गरेपछि , जितसँगै अार्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अार्मीलाई  ३३ अौं मिनेटमा सन्तोष तामाङको कर्नरमा कप्तान भरत खवासले हेडरमार्फत गोल गर्दै अार्मीलाई अगाडि बढाए । दोस्रो हाफको सुरुवातमै शेर्पाले खेलमा फर्कने सुन्दर अवसर पायो । कर्ण लिम्बुले गरेको प्रहारलाई अार्मीका गोल रकम विकेश कुथुले सुन्दर बचाउ गरे । ५८ अौं मिनेटमा कर्णको प्रहारमा फेरिपनि विकेश नै बाधक बने ।

अार्मीका लागि ८६ अौं मिनेटमा भरतले नै अार्मीको अग्रता दोब्बर पारे । दिनेश हेन्जनको प्रहारलाई गोलरक्षक किशोर गिरीले बताएपनि रिबाउन्डमा भरतले सहजै गोल गरे । शेर्पाका लागि सिवेले २५ यार्डमा टाढाबाट गरेको प्रहार डिफ्लेक्ट हुँदा विकेश झुक्किएपछि फितलो प्रहार गोल भएको थियो ।

यस जितसँगै दोस्रो स्थानमा पुगेको अार्मीले अपराजित यात्रा कायमै राखेको छ । अार्मीको ५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ । शेर्पा भने लिगमा पहिलो हार बेहोरेपछि ५ खेलमा १० अंकमा अडेको छ ।


प्रतिक्रिया दिनुहोस्