टिपर रोक्न गएका स्थानीय प्रहरीबाट कुटिए, प्रदर्शन जारी

गाईघाट / मध्यरातमा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै उदयपुरको कटारी नगरपालिका-४ मरुवाका स्थानीयले प्रदर्शन गरेका छन्। कसमस सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेर आएको टिफर शनिबार रोकेको विषयमा विवाद हुँदा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठको टोलीले लाठी चार्ज गरेको थियो। स्थानीयले मध्यरातदेखि प्रदर्शन जारी राखेका हुन्।

सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने टिफर गाउँबाट चल्दा धूलो उड्ने राति ध्वनी प्रदूषण हुने भन्दै स्थानीयले शनिबरदेखि टिफर बन्द गराएका थिए। स्थानीयको मागलाई व्यवास्ता गर्दै उद्योगले शनिबार राति ११ बजे चुनढुंगा लिन खानी क्षेत्र पठाएपछि विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

स्थानीयले टिपरमा रोक लगाएपछि प्रहरीको टोली लिएर पुगेका डीएसपी श्रेष्ठले अश्लिल शब्द प्रयोग गर्दै अन्धाधुन्द लाठी चार्ज गरेपछि स्थानीयले तत्काल प्रतिकार गर्दै प्रहरी विरुद्ध नाराबाजी गरेको वडाध्यक्ष कृष्ण दनुवारले बताए ।

दनुवारले डीएसपी श्रेष्ठ आफै नै गुण्डागर्दी शैलीमा उत्रिएपछि बिबाद चुलिएको बताए। मादक पदार्थ सेवन गरी पुगेका डीएसपीसहितको टोलीले एक्कासी स्थानीयसँग अश्लिल शब्द बोल्दै महिलामाथि कुटपिट गरेको स्थानीयको आरोप छ।

कुटपिटबाट सामान्य घाइते भएकाहरु कटारी अस्पत्तालमा उपचार गरी घर फर्किएको स्थानीय अनिल थापाले बताए । कुटपिटपछि अस्पत्ताल आइपुगेका गाउँलेले राति नै कटारी बजारमा प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका थिए

यता डीएसपी श्रेष्ठले भने राष्ट्रिय राजमार्गमा सवारी साधनमाथि रोक लगाउन नपाइने भएकाले हटाउने क्रममा सामान्य विवाद भएको बताए। सिमन्ट उद्योग र स्थानीयबी चुनढुंगा ढुवानी गर्दा धूलो उड्न नदिनका लागि पानी छर्कर्ने र ढुवानी गर्ने सहमति भएपनि राति टिपर संचालन भएका पछि स्थानीयले राति नै रोकेको वडाध्यक्ष दनुवारले बताए।अहिले प्रशासन, जनप्रतिनिधि, स्थानीय र उद्योगबीच वार्ता जारी रहेको जनाइएको छ। अन्नपूर्ण पोस्ट मा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्