झारफुक गर्ने निहुँमा क्यान्सर रोगपीडितलाई पटकपटक बलात्कार प्रकाशित मिति : 3 November, 2018 2:02 pm बर्दिया, / बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताउनुभयो । पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ की भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ । उहाँले भन्नुभयो, “रोग निको भइहाल्छ की भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन । तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ ।” पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिनुभएको छ । पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताउनुभयो । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ । रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन् । पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन् । रासस