एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा माइपोखरी पनि

पशुपतिनगर, इलाम, १६ कात्तिक /  सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो ।

माइपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । माइपोखरी सन्दकपुर गाउँपालिका–१ र ४ मा अवस्थित छ । सार्वजनिक सूचना, अध्ययन र विज्ञको सुझावका आधारमा माइपोखरीलाई सूचीकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताउनुभयो । छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि चालू आवमा रु ५० लाख विनियोजन गरिएको छ ।

सदरमुकामबाट १३ किलोमिटरको दूरीमा रहेको माइपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो । माइपोखरीमा बलिप्रथा निषेध छ । हिन्दू, बौद्ध, र किराँत मुन्धुम धर्मको आस्थाको केन्द्र माइपोखरीमा वैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठूली एकादशीका दिन विषेश पूजा र मेला लाग्छ । दुई हजार १२१ मिटरको उचाइमा अवस्थित माइपोखरी १२ हेक्टरमा फैलिएको छ । यहाँ सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणी अवलोकन गर्न सकिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्