अवैध आप्रवासीलाई रोक्न हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान प्रकाशित मिति : 30 October, 2018 12:44 pm वासिङ्टन, १३ कात्तिक / अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर ९क्याराभान० लाई रोक्न यस्तो कदम चालेको बताएका छन् । यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन् । यसअघि नै सीमामा दुई हजार नेसनल गार्ड खटिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आउनुभएको छ । उहाँले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहनु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब तीन हजार ५०० मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताउनुभयो । यसबाहेक, ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब तीन हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन् । म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताउनुभयो । सीमा सुरक्षा एजेन्टहरुले तीन सातादेखि दिनहुँ एक हजार ९०० जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति सात हजार अमेरिकी डलरसम्म बुझाएको म्याकअलिननले बताउनुभयो । रासस/एएफपी