दशैंको मुखैमा ४० हजार भन्दा बढी युवाहरु विदेशिए काठमाडौं / नेपालीको महान् चाड दशैँको मुखैमा चाड मनाउने रहर हुँदाहुँदै ४० हजार भन्दाबढी नेपाली युवाहरु विदेशिएका छन्। अघिल्लो वर्ष दशैँको बेलामा नै अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २४ हजारको हाराहरीमा मात्रै थियो। गत असोज महिनामा मात्रै वैदेशिक रोजगारीको लागि ४२ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृत लिएर विदेशिएको तथ्यांक छ। गत भदौ महिनामा अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या भने ३० हजारको हाराहारीमा मात्रै थियो। तर, गत महिनाको तुलनामा असोज महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ। विदेशिने मध्ये ३९ हजार ७ सय ६६ जना पुरुष र २ हजार ७ सय ३७ महिला छन् । विभागको तथ्यांक अनुसार कतार, साउदी, युएई, कुवेत, ओमान, जापान, पोल्याण्ड, जोर्डन, इजरायल, अफगानिस्तान लगायतका मुलुकमा नेपाली कामदार रोजगारीका लागि आर्कषित देखिन्छन्।