एल क्लासिकोबारे रोमान्चक तथ्य, मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा अन्त्य प्रकाशित मिति : 27 October, 2018 12:37 pm बार्सिलोना / बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका रोमाञ्चक तथ्य। १ सय १५ वर्ष देखिको प्रतिस्पर्धा बार्सिलोना र रियल म्याड्रिडबीचको पहिलो खेल १ सय १५ वर्ष अघि सुरु भएको थियो। मे १३, १९०२ मा कोरोनेसन कप अन्तर्गत भएको उक्त खेल बार्सिलोनाले जितेको थियो। त्यस्तै पहिलो पटक लिगमा भने फेब्रुअरी १७, १९२९ मा रियलले २-१ ले खल आफ्नो पक्षमा पारेको थियो। सर्वाधिक गोल मेस्सीको रियल र बार्साबीचको यस प्रतिस्पर्धामा सर्वाधिक गोल गर्ने खेलाडी लियोनल मेस्सी हुन् । उनले २१ गोल गरेका छन् । तर चोटका कारण आइतबारको खेलमा मेस्सी खेल्ने छैनन्। सर्वाधिक असिस्ट मेस्सीकै एल क्लासिकोमा मेस्सीले सर्वाधिक असिस्ट गरेका छन्। उनको नाममा १४ असिस्ट छन्। दशकको प्रतिस्पर्धाको अन्त्य लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई यस शताब्दीकै उत्कृष्ट फुटबल खेलाडीको रुपमा चिनिने गर्दछ। बार्सा र रियलबीचको यस प्रतिस्पर्धालाई मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धामा पनि हेर्ने गरिएको थियो। तर ९ वर्ष रियलमा बिताएका रोनाल्डो युभेन्टस पुगेसँगै यो प्रतिस्पर्धाको भने अन्त्य भएको छ। सर्वाधिक खेल्ने खेलाडी रियलका मानुएल सान्चिज, फ्रान्सिस्को जेन्टो र बार्सिलोनाका जावीले समान ४२ एल क्लासिको खेलेका छन्। एल क्लासिकोमा अझै खेल्दै गरेका खेलाडीद्वय लियोनल मेस्सी र सर्जियो रामोसको समान ३८ खेल छन्। गोल रहित बराबरी विगत १५ वर्षदेखि यस रोमाञ्चक खेलमा गोल रहित बराबरी भएको छैन। पछिल्लो पटक नभेम्बर २३, २००२ मा दुवै टोलीले गोल गरेका थिएनन। उक्त खेल बार्सिलोनाको घरेलु मैदानमा भएको थियो। ब्राजिलियन रोनाल्डोको किर्तिमान एल क्लासिकोमा रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीबाट गोल गर्ने एकमात्र खेलाडी ब्राजिलका लेजेण्ड रोनाल्डो हुन्। दुई टोलीबीच २ सय २८ खेलमा रियलले ९१ र बार्सिलोनाले ८८ खेल जितेको छ। एजेन्सी